दिगो कृषि तथा खाद्यप्रणाली सम्बन्धि राष्ट्रिय सम्मेलन


चितवन । नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील तथा भविष्यउन्मुख बनाउने उद्देश्यका साथ “दिगो कृषि तथा खाद्यप्रणाली सम्बन्धि राष्ट्रिय सम्मेलन” यही २०८३ असार ११ देखि १३ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरस्थित मल्टिपर्पोज हलमा आयोजना हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयद्वारा आयोजित उक्त सम्मेलनका सह-आयोजकहरुमा नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालय (Ministry of Agriculture, Forest and Environment), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (Food and Agriculture Organization of the United Nations), हेफर इन्टर्नेशनल नेपाल (Heifer International Nepal), केयर नेपाल (CARE Nepal) तथा वेल्टहंगरहिल्फ (Welthungerhilfe) रहेका छन्। सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. होम बहादुर बस्नेतको अध्यक्षता तथा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
कृषि तथा खाद्य प्रणाली रूपान्तरणका लागि राष्ट्रिय बहसको थलो
सम्मेलनमा कृषि तथा खाद्य प्रणालीसँग सम्बन्धित समसामयिक र बहुआयामिक विषयहरूमा गहन छलफल हुने आयोजकले
जनाएको छ। विशेष गरी कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, दिगो जीविकोपार्जन, जलवायु अनुकूलन, प्राकृतिक स्रोत
व्यवस्थापन, प्रकोप जोखिम न्यूनीकरण, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान, एक-स्वास्थ्य, दिगो वन व्यवस्थापन, जैविक
विविधता, पारिस्थितिकीय सेवा, चक्रिय अर्थतन्त्र, कृषि व्यवसाय, मूल्य शृंखला, बजार प्रणाली, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल
कृषि, सामाजिक समावेशीकरण, लैंगिक समानता, युवा सहभागिता, बसाइँसराइ, नीति, शासन तथा मानवीय पूँजी विकास जस्ता
विषयहरू सम्मेलनका प्रमुख आकर्षण रहनेछन्। तीनदिने सम्मेलनमा २० वटा प्रमुख आमन्त्रित प्रस्तुति, ७० वटा मौखिक
अनुसन्धान प्रस्तुति तथा ४६ वटा पोस्टर प्रस्तुति समावेश गरिएका छन्। यसबाट देशभरका अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी,
नीति निर्माता, विकास साझेदार तथा निजी क्षेत्रबीच ज्ञान आदान–प्रदान, अनुभव साझेदारी र सहकार्यका नयाँ सम्भावनाहरू
विस्तार हुने अपेक्षा गरिएको छ।
खाद्य प्रणाली रूपान्तरणका लागि सामूहिक बहस
सम्मेलनको अर्को महत्वपूर्ण पक्षका रूपमा नेपालको दिगो खाद्य प्रणाली रूपान्तरण विषयमा विशेष सामूहिक छलफल आयोजना
गरिनेछ। उक्त छलफलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, विकास साझेदार संस्था, कृषक समूह महासंघ, कृषि
उद्यमी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ। छलफलमा हालसम्म खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयासहरूको समीक्षा गरिनुका साथै भविष्यमा अपनाउनुपर्ने रणनीति, नीति तथा कार्यक्रमबारे बहस–पैरवी गरिनेछ। पछिल्ला वर्षहरूमा नेपालमा कृषि तथा खाद्य प्रणालीलाई जलवायु\अनुकूल, पोषणमैत्री र समावेशी बनाउने विषयले विशेष प्राथमिकता पाएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूले पनि खाद्य प्रणाली रूपान्तरणका लागि नवप्रवर्तन, लगानी, युवा नेतृत्व र बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
लैंगिक समानता र कृषि–पारिस्थितिकीमार्फत समावेशी खाद्य प्रणाली रूपान्तरणबारे विशेष बहस
सम्मेलनको अर्को महत्वपूर्ण आकर्षणका रूपमा लैंगिक समानता र कृषि–पारिस्थितिकीमार्फत समावेशी खाद्य प्रणाली रूपान्तरण
विषयक विशेष सामूहिक छलफल आयोजना गरिने भएको छ। उक्त सत्रले नेपालको खाद्य प्रणाली रूपान्तरण प्रक्रियामा लैंगिक
समानता, सामाजिक समावेशीकरण तथा कृषि–पारिस्थितिकीको भूमिकामाथि गहन विमर्श गर्ने अपेक्षा गरिएको छ। आयोजकका
अनुसार यो सत्रले केवल लैंगिक समानताका सवालहरू उठाउने मात्र नभई, महिलामैत्री, युवा–मैत्री, जलवायु–उत्थानशील तथा
प्रकृतिमैत्री कृषि प्रणालीमार्फत नेपालमा “कोहि पनि पछी नपरुन” अवधारणामा आधारित खाद्य प्रणाली रूपान्तरणका
व्यावहारिक मार्गहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
‘द म्युटेड मेलोडी’ नाट्य प्रस्तुति विशेष आकर्षण
सम्मेलनको पहिलो दिनको अन्तिम सत्रलाई थप सृजनात्मक र सन्देशमूलक बनाउने उद्देश्यले चितवनको प्रख्यात रङ्गमञ्च “कर्मी
चौतारी” द्वारा “The Muted Melody” शीर्षकको विशेष नाट्य प्रस्तुति मञ्चन गरिनेछ। कला, संस्कृति र सामाजिक चेतनालाई
कृषि तथा खाद्य प्रणालीका सवालहरूसँग जोड्ने प्रयासस्वरूप समावेश गरिएको उक्त नाटकले सम्मेलनमा सहभागीहरूलाई फरक
अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
चार-सय बढी सहभागीता
सम्मेलनमा नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालय तथा मातहतका निकायहरू, Nepal Agricultural Research
Council र त्यसअन्तर्गतका अनुसन्धान केन्द्रहरू, विभिन्न विश्वविद्यालय तथा अध्ययन संस्थानहरू, विकास साझेदार संस्था, निजी
क्षेत्र, कृषक समूह, कृषि सञ्जाल, वित्तीय संस्था, विद्यार्थी स्टार्टअप तथा उद्यमीहरूको प्रतिनिधित्व गर्दै करिब ४०० जनाको
सहभागिता रहनेछ। आयोजकका अनुसार सम्मेलनले अनुसन्धान, नीति निर्माण, नवप्रवर्तन तथा व्यवहारिक अभ्यासबीचको दूरी
कम गर्दै कृषि क्षेत्रका विविध सरोकारवालाबीच सहकार्यको बलियो आधार निर्माण गर्नेछ।
विश्वविद्यालय द्वारा प्रवर्द्धित नवप्रवर्तनशील स्टार्टअपहरूको प्रदर्शनी
सम्मेलनको अर्को विशेष आकर्षणका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय–बिजनेस इन्क्युबेशन सेन्टर (AFUBIC) द्वारा
प्रवर्द्धित नवप्रवर्तनशील स्टार्टअपहरूको प्रदर्शनी कार्यक्रम पनि समावेश गरिएको छ। अनुसन्धान तथा प्रसार निर्देशनालय
(DoREX) अन्तर्गत सञ्चालित AFUBIC ले विश्वविद्यालयका विभिन्न संकाय तथा आंगिक क्याम्पसका विद्यार्थीहरूद्वारा
विकसित नवीनतम व्यवसायिक सोच, प्रविधि तथा उद्यमशील पहलहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
हाल यस विश्वविद्यालयमा १३ वटा विद्यार्थीका समुहहरुले स्टार्टअप व्यवसाय सञ्चालन गरिरहेका छन्।
सम्मेलन किन ?
नेपालको कृषि क्षेत्र आज जलवायु परिवर्तन, प्राकृतिक स्रोतको क्षय, कृषि श्रमिकको अभाव, युवा पलायन, बजार अस्थिरता, खाद्य
तथा पोषण असुरक्षा, जैविक विविधताको ह्रास तथा बदलिँदो उपभोग प्रवृत्ति जस्ता चुनौतीहरूको सामना गरिरहेको छ। यस्ता
चुनौतीहरू केवल उत्पादन वृद्धि गरेर मात्र समाधान हुन सक्दैनन्; सम्पूर्ण कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी र
उत्थानशील बनाउनु आवश्यक छ। खाद्य सुरक्षा, प्राकृतिक स्रोत संरक्षण, कृषि व्यवसायीकरण तथा मानव कल्याणलाई एकीकृत
रूपमा हेर्ने दृष्टिकोण अहिलेको आवश्यकता बनेको छ।
यस सन्दर्भमा आयोजना हुन लागेको यो राष्ट्रिय सम्मेलन केवल अनुसन्धान प्रस्तुत गर्ने औपचारिक कार्यक्रम मात्र नभई नेपालको
कृषि तथा खाद्य प्रणालीको भविष्यबारे साझा दृष्टिकोण निर्माण गर्ने राष्ट्रिय मञ्च का रूपमा हेरिएको छ। विश्वविद्यालय, सरकार,
निजी क्षेत्र, विकास साझेदार, कृषक र युवाहरूलाई एउटै थलोमा ल्याई ज्ञान, नीति र अभ्यासलाई जोड्ने प्रयासले नेपालको दिगो
विकास लक्ष्य प्राप्ति, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषि रूपान्तरणको यात्रामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
आयोजकले सम्मेलनलाई नेपालको कृषि तथा खाद्य प्रणालीको दिगो रूपान्तरणतर्फको साझा प्रतिबद्धताको ऐतिहासिक अवसरका
रूपमा सफल बनाउन सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।





