प्रबास

    वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री

    एजेन्सी
    २०८३ असार ८ | मध्यान्ह १२:०३ बजे

      तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानी तेलमाथिका केही प्रतिबन्धहरूमा छुट दिइएको र विदेशमा रोक्का गरिएका इरानका केही सम्पत्ति फुकुवा गरिएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै अराघचीले इरानका लागि ठुलो पुनर्निर्माण तथा विकास योजना पनि सुरु गरिएको दाबी गरेका छन् । तर उनले फुकुवा गरिएका सम्पत्ति वा पुनर्निर्माण योजनाबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।

      इरानी प्रतिनिधिमण्डलको मिडिया समितिले जारी गरेको छुट्टै वक्तव्यअनुसार, इरान र कतारबिच तेहरानका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रियालाई कार्यान्वयन गर्न नयाँ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

      यो जानकारी इरानको अर्धसरकारी समाचार संस्था फार्स न्यूज एजेन्सीले दिएको हो । यसैबिच, इरानी प्रतिनिधिमण्डलका आर्थिक विज्ञ हुसेन घोरबनजादेहले अमेरिकी प्रतिबन्धअन्तर्गत रहेको इरानी तेल तथा तेलजन्य पदार्थमाथि अस्थायी छुट दिने मस्यौदा सम्झौता तयार भएको बताएका छन् ।

      अराघचीका अनुसार  वार्ताको पहिलो वास्तविक परीक्षा लेबनानसम्बन्धी ‘डी–कन्फ्लिक्शन सेल’ हुनेछ । मध्यस्थकर्ताको भूमिकामा रहेका कतार र पाकिस्तानले अमेरिका र इरान दुवैले उक्त संयन्त्रमा सहमति जनाएको बताएका छन् । यस संयन्त्रको उद्देश्य लेबनानमा सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न सहयोग गर्नु हो ।

        कमेन्टहरु