नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै


मुम्बई । ओटीटी प्लेटफर्म नेटफ्लिक्स आफ्नो कन्टेन्टलाई लिएर एक पटक पुनः विवादमा घेरिने सम्भावना बढेको छ। नेटफ्लिक्सले स्ट्यान्ड-अप कमेडियन समय रैनासँग नयाँ सहकार्यको घोषणा गरेको छ, जस अन्तर्गत उनको अत्यधिक विवादित मानिएको शो ‘इन्डियाज गट लेटन्ट’ को दोस्रो सिजन यस प्लेटफर्ममा ल्याइँदैछ।
अनफिल्टर्ड र कतिपय संवेदनशील मुद्दाहरूको मजाक उडाएको भन्दै आलोचना खेपिरहेका समय रैनाको यो शो जुन २० देखि स्ट्रिम हुने भएको छ। नेटफ्लिक्स जस्तो ग्लोबल प्लेटफर्मले यस प्रकारको अनफिल्टर्ड कन्टेन्टलाई प्रवर्द्धन गर्ने निर्णय गरेपछि आगामी दिनहरूमा यसमाथि प्रश्न उठ्न सक्ने देखिएको छ। यसअघि यही प्लेटफर्ममा अर्को विवादित शो ‘लकअप २’ पनि जुन २७ देखि प्रिमियर हुने तयारीमा छ।
भारतीय ओटीटी बजारमा लगातार फ्लप शोहरू दिएपछि नेटफ्लिक्सले आफ्नो अस्तित्व जोगाउन विवादित कन्टेन्टको साहरा लिइरहेको विश्लेषण गरिएको छ। अमेजन प्राइम र जियोहटस्टार जस्ता प्लेटफर्महरूबाट पाइरहेको कडा प्रतिस्पर्धाका बिच नेटफ्लिक्सले यस्ता कन्टेन्टमा दाउ लगाइरहेको हो। ठुलो बजेट र कहलिएका स्टारहरू हुँदाहुँदै पनि भारतीय दर्शकहरूसँग सांस्कृतिक रूपमा जोडिन असफल भएपछि यो प्लेटफर्मले मास अडियन्सलाई आकर्षित गर्न यस्तो रणनीति अपनाएको देखिन्छ।
नेटफ्लिक्सले पछिल्लो समय सैफ अली खान, माधुरी दीक्षित, करिना कपुर र बबी देओल जस्ता ठुला स्टारहरूसँग धेरै प्रोजेक्टहरू सार्वजनिक गरेको थियो। हालै आएका सैफ अली खानको ‘कर्तव्य’ र ‘ज्वेल थिफ’ जस्ता शोहरूको निकै चर्चा भए पनि रिलिजपछि ती दर्शकमाझ गहिरो छाप छोड्न असफल रहे। त्यसैगरी, माधुरी दीक्षित र तृप्ति डिमरीको ‘मां-बहन’ लाई लिएर पनि सामाजिक सञ्जालमा केही दिन बहस भए पनि दर्शकले यसलाई बिर्सिसकेका छन्।
भारतको ओटीटी बजारमा अमेजन प्राइम भिडियो आफ्ना बलिया फ्रेन्चाइजीका कारण निकै अगाडि निकलिसकेको छ। ओरम्याक्स मिडियाको रिपोर्ट अनुसार शाहिद कपुरको ‘फर्जी’ ३.७१ करोड दर्शकका साथ भारतकै सबैभन्दा बढी हेरिएको सिरिज बनेको थियो। यसबाहेक ‘मिर्जापुर’ र ‘पंचायत’ का पात्रहरू भारतीय पप कल्चरको हिस्सा बनिसकेका छन्।





