अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ


नयाँ दिल्ली । भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको दूरसञ्चार एकाइ ‘जियो प्लेटफर्म्स’ ले भारतको इतिहासकै सबैभन्दा ठुलोमध्येको एक सेयर बिक्री गर्ने घोषणा गरेको छ।
रिलायन्सको वार्षिक साधारण सभामा अम्बानीले कम्पनीको सञ्चालक समितिले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि विवरणपत्रको मस्यौदा स्वीकृत गरिसकेको जानकारी दिएका छनहु। ५० करोडभन्दा बढी ग्राहक रहेको भारतको यो सबैभन्दा ठुलो दूरसञ्चार कम्पनीले आईपीओमार्फत झन्डै ४ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने मिडिया रिपोर्टहरूले जनाएका छन्।
सन् २०१६ मा सस्तो मोबाइल डाटा प्लान ल्याएर भारतीय दूरसञ्चार क्षेत्रमा हलचल मच्चाएको जियोले छोटो समयमै करोडौँ प्रयोगकर्ताहरू बटुलेको थियो। त्यसयता कम्पनीले क्लाउड कम्प्युटिङ, इन्टरप्राइज सेवा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा आफ्नो बजार विस्तार गरिसकेको छ।
जियोको आईपीओका लागि लगानीकर्ताहरूले लामो समयदेखि पर्खिरहेका थिए। गत वर्ष अम्बानीले सन् २०२६ को पहिलो छ महिनाभित्र कम्पनीलाई सेयर बजारमा सूचीकृत गरिने बताएका थिए।
नेशनल स्टक एक्सचेन्ज (एनएसई) ले आफ्नो लामो समयदेखि प्रतिक्षित बजार प्रवेशका लागि कागजपत्र पेस गरेको भोलिपल्ट नै जियोको आईपीओ घोषणा भएको हो। यसले भारतको पूँजी बजारमा नयाँ उत्साह थपेको छ। सेयरको मूल्य र मूल्याङ्कनको विस्तृत विवरण अझै सार्वजनिक नभए पनि मिडिया रिपोर्टहरूका अनुसार एनएसईको आईपीओले मात्रै ३ अर्ब डलरभन्दा बढी सङ्कलन गर्न सक्ने अनुमान गरिएको छ। जियो र एनएसई दुवैको लिस्टिङले दुई वर्षअघि हुन्डाई मोटर इन्डियाको ३.३ अर्ब डलरको ऐतिहासिक सेयर बिक्रीलाई समेत टक्कर दिँदै हालका वर्षहरूमा भारतकै सबैभन्दा ठुलो आईपीओ बन्नेछ।
दूरसञ्चार बाहेक एआई र डिजिटल पूर्वाधारमा आक्रामक बन्दै गएको जियोका लागि यो वर्ष थप उत्साहजनक रहेको छ। यसै महिनाको सुरुमा मेटाले रिलायन्सद्वारा पश्चिमी राज्य गुजरातमा निर्माण भइरहेको १६८ मेगावाट क्षमताको एआई-सक्षम डाटा सेन्टरको क्षमता भाडामा लिने घोषणा गरेको थियो। यो सम्झौता सन् २०२० मा सुरु भएको साझेदारीको निरन्तरता हो, जतिबेला मेटाले जियोमा ५.७ अर्ब डलर लगानी गरेको थियो।





