बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते

एजेन्सी
२०८३ असार ६ | बिहान ०६:०३ बजे

काठमाडौँ । बेलायतको बेडफोर्डमा दुईवटा रेल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन् । ब्रिटिस ट्रान्सपोर्ट पुलिसका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।
दुर्घटनाको भयावहतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यसलाई ठूलो घटना घोषणा गरेको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा अग्निनियन्त्रक, प्रहरी र एम्बुलेन्स टोलीहरू उद्धारका लागि खटिएका छन् । दुर्घटनामा कोर्बीबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल र नटिङ्घमबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल आपसमा जुधेका हुन् ।
यस दुर्घटनाका कारण रेल सेवा नराम्ररी प्रभावित भएको छ । इस्ट मिडल्याण्ड्स रेलवेले लन्डन सेन्ट पानक्रस जाने र आउने आफ्ना सबै सेवाहरू स्थगित गरेको छ । त्यस्तै, टेम्सलिङ्कले लुटन र बेडफोर्ड बीचका सबै रेल मार्गहरू अवरुद्ध भएको जनाइएको छ ।





