गन्धर्व समुदायका महिला तरकारीखेतीमा


दाङ । दाङका वादी तथा गन्धर्व महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । उनीहरूले गरे के हुँदैन भन्ने उदाहरण गन्धर्व समुदायलाई सिकाएका छन् । अर्काकोमा मजदुरीमा सीमित यहाँका वादी तथा गन्धर्व महिलाले आफ्नै किसानी काम गरेपछि हाताभरि पैसा थाप्न सकिन्छ भन्ने उदाहरण अन्य दिदीबहिनीलाई सिकाएका हुन् ।
इन्द्रेणी कृषि समूह गठन गरी तरकारीखेतीको सुरुआत गरेका बबईका महिलाले विगत चार वर्षदेखि इन्टिग्रेटेट पेष्ट मेनेजमेन्ट (आइपिएम) प्रविधिबाट तरकारीखेती गर्न थालेका हुन् । अहिले शारदासँगै त्यहाँका अतिविपन्न १० जना महिला उनीसँगै तरकारीखेतीमा व्यस्त छन्।
शारदा गन्धर्वले भनिन्, “सरकारले घर बनाइदियो । तर, गरिखाने अवस्था भएन । सुरुमा अर्काको जग्गा भाडामा लिएर तरकारीखेती गरेँ । आम्दानी भयो, त्यो देखेर अरु १० दिदीबहिनी पनि मसँगै तरकारीखेती गर्न आएँ ।”
अहिले १० जना गन्धर्व महिलाले स्थानीयको दुई बिघा जग्गा मासिक रु ३० हजार भाडामा लिएर मौसमी र बेमौसमी तरकारीखेती गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी केही बारीबाट केही हापुरे तथा तुलसीपुर बजारमा बिक्री गर्दै आएका छन् ।
त्यसैगरी, सोही ठाउँमा तरकारीखेती गरेकी ४५ वर्षीया वसन्ती गन्धर्वले तरकारीखेतीले मेरो जीवनमा नयाँ परिवर्तन ल्याएको बताइन्। उनले भनिन्, “यसअघि हाम्रो घरबास त थियो, तर दैनिक रूपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन । तरकारीखेतीले जीवन सहज भएको छ ।”
यहाँ गरेको तरकारीखेती अवलोकन गर्न विभिन्न सङ्घसंस्था तथा सरकारी निकायका प्रतिनिधि आउने गरेको पनि उनले बताइन्। समाजमा अतिविपन्न तथा पछिडिएका महिलाले उत्पादनमा देखाएको उत्साहले अरुलाई थप प्रेरण मिलेको यहाँका उद्यमीहरूले बताउँदै आएका छन्।





