प्रबास

    इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल

    एजेन्सी
    २०८३ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

      इन्डोनेसिया । इन्डोनेसियाको सैन्य अदालतले मानवअधिकारकर्मी एन्ड्री युनुसमाथि एसिड आक्रमण गरेको अभियोगमा चार जना सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ । अदालतले एक अभियुक्तलाई तीन वर्ष, अर्कोलाई दुई वर्ष छ महिना, तेस्रोलाई दुई वर्ष र चौथोलाई एक वर्ष छ महिना कैद सजाय सुनाएको हो । उनीहरू सबै इन्डोनेसियाली सेनाको रणनीतिक गुप्तचर एजेन्सी (बीएआईएस) का सदस्य हुन् ।

      २७ वर्षीय युनुसमाथि गत मार्च १२ मा राजधानी जकार्तामा मोटरसाइकल चलाइरहेका बेला एसिड प्रहार गरिएको थियो । उक्त आक्रमणबाट उनको एउटा आँखाको दृष्टि गुमेको थियो भने अनुहार र शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

      अभियोजन पक्षले सैनिकहरू युनुसको मानवअधिकार गतिविधिप्रति आक्रोशित भएर आक्रमणमा संलग्न भएको जनाएको छ । युनुस राष्ट्रपति प्रबोवो सुबियान्तो सरकारको सैन्य प्रभाव विस्तार गर्ने नीतिका कडा आलोचक मानिन्छन् ।
      घटनाको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेको थियो । मानवअधिकारकर्मीमाथिको आक्रमणपछि व्यापक आलोचना भएपछि सम्बन्धित सैन्य गुप्तचर एजेन्सीका प्रमुखले पदबाट राजीनामा दिएका थिए ।

        कमेन्टहरु