हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

रासस
२०८३ जेष्ठ २७ | बिहान ०९:०२ बजे

मध्यविन्दु (नवलपरासी),जेठ २७। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुयाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।
कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्ष खड्काले बताउनुभयो । हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।





