समाचार

    विद्यालयमाथि दुर्व्यवहार र धम्की भएको भन्दै श्री रामचन्द्र माध्यमिक विद्यालयको प्रेस विज्ञप्ति

    अशोक यादव
    २०८३ जेष्ठ २७ | बिहान ०६:०२ बजे

      जेठ २६ । रौतहटको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडियास्थित श्री रामचन्द्र माध्यमिक विद्यालयले विद्यालय, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षमाथि भइरहेको भनिएको दुर्व्यवहार, मानसिक दबाब र धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।
      प्रधानाध्यापक जङ्गबहादुर ठाकुरद्वारा जारी विज्ञप्तिमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई निरन्तर मानसिक तनाव दिने, विद्यालयको शैक्षिक वातावरण खल्बल्याउने तथा आधारहीन आरोप लगाउने गतिविधि भइरहेको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार विद्यालयका प्रधानाध्यापकमाथि अभद्र व्यवहार गरिनुका साथै विद्यालय नै बर्बाद पार्ने र सामाजिक सञ्जालमार्फत भ्रष्टाचारको आरोप लगाउँदै ज्यानसमेत मार्ने धम्की दिइएको दाबी गरिएको छ।

      विद्यालयले आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण हिसाब–किताब स्थानीय भद्रभलाद्मी, अभिभावक तथा राजनीतिक प्रतिनिधिहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिको रोहवरमा सार्वजनिक गरिसकिएको जनाएको छ।विज्ञप्तिमा पत्रकारिताको आवरणमा राहुल साह नामक व्यक्तिले विद्यालय परिसरमा प्रवेश गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीशङ्कर पाल तथा प्रधानाध्यापक जङ्गबहादुर ठाकुरमाथि अपशब्द प्रयोग गरेको, भौतिक आक्रमण गर्ने प्रयास गरेको तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ। उक्त घटनाका क्रममा सहायक प्रधानाध्यापक शेख तुफैल, व्यवस्थापन समिति सदस्य मोहि अहमद तथा राहुल साहका बुवा समेत उपस्थित रहेको विद्यालयको दाबी छ।

      विद्यालय प्रशासनले शैक्षिक संस्थाको गरिमा र शान्ति भंग गर्ने, शिक्षकहरूको आत्मसम्मानमा चोट पुर्‍याउने तथा जिम्मेवार पदाधिकारीहरूलाई असुरक्षित बनाउने कार्यको घोर भर्त्सना गर्दै सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।

      साथै विद्यालयले सत्य तथ्यको आधारमा विषयवस्तु बुझ्न सञ्चारकर्मी, नागरिक समाज, अभिभावक तथा सरोकारवाला पक्षलाई आग्रह गर्दै न्याय र सत्यको पक्षमा उभिन अपिल गरेको छ।

      WhatsApp Image 2026 06 10 at 06.47.24 1

        कमेन्टहरु