ट्रम्पले गरे १.८ अर्ब डलरको ‘एन्टी–वेपनाइजेसन’ कोष स्थगित गर्ने तयारी


वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रस्ताव गरेको १.८ अर्ब अमेरिकी डलरको ‘एन्टी–वेपनाइजेसन’ कोष स्थगित गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सोमबार उक्त कोषको कार्यान्वयन रोक्ने निर्णय गरिएको संकेत मिले पनि ह्वाइट हाउसले औपचारिक रूपमा पुष्टि गरेको छैन । यो कोषलाई लिएर अमेरिकी संसदमा दुवै दलबाट विरोध भएको थियो। विशेषगरी ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदहरूले पनि यसको आवश्यकता, खर्च र कार्यक्षेत्रबारे प्रश्न उठाएका थिए ।
सोमबारको घोषणा हाउस स्पिकर माइक जोनसनसँगको भेटेपछि आएको हो । सो भेटमा जोनसन र ट्रम्पले यो कोषबारे रिपब्लिकनहरूको चिन्ताहरूबारे कुराकानी गरेका थिए ।
प्रस्तावित कोषको उद्देश्य संघीय निकायहरूलाई राजनीतिक हतियारका रूपमा प्रयोग हुन नदिन तथा सरकारी संस्थाहरूको निष्पक्षता सुदृढ गर्नु रहेको बताइएको थियो । तर आलोचकहरूले यसले अनावश्यक रूपमा सरकारी खर्च बढाउने र विद्यमान निकायहरूको काम दोहोरिने तर्क गरेका थिए ।
दलीय सीमाभन्दा बाहिर गएर भएको विरोधपछि ट्रम्प प्रशासनले योजनालाई तत्कालका लागि रोक्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरूको दाबी छ ।





