युक्रेनभर रुसको भीषण आक्रमण : कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते


किभ । रुसले मंगलबार रातभर युक्रेनका विभिन्न सहरहरूमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको ड्निप्रो सहरमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी किभमा चार जनाको ज्यान गएको छ र कम्तीमा ५१ जना घाइते भएका छन् । घाइतेमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गत साता रुसले युक्रेनले कब्जामा रहेको रुसी नियन्त्रणको लुहान्स्क क्षेत्रमा रहेको एक छात्रावासमा ड्रोन आक्रमण गरी २१ जनाको ज्यान लिएको घटनाको प्रतिशोधस्वरूप युक्रेनमाथि ‘व्यवस्थित आक्रमण’ गर्ने चेतावनी दिएको थियो ।
आक्रमणपछि किभका बासिन्दालाई आश्रयस्थलमै बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोले रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिरहेको बताएका छन् ।
युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। किभको केन्द्रभागबाट बाक्लो धुवाँ उडिरहेको देखिएको थियो ।उता रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
किभमा भने रातभर लगातार विस्फोटका आवाज सुनिएका थिए । ड्रोनहरूको गुन्जनसँगै दर्जनौँ विस्फोट भएपछि सहरका विभिन्न स्थानमा आगलागी भएको थियो । मेयर क्लिट्स्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन स्थल, अपार्टमेन्ट भवनहरू तथा दुई निजी घरमा आगो लागेको छ । सहरका केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ ।





