धनुषाबाट बहुविवाह र ठगी गरेको आरोपामा साह पक्राउ


जनकपुरधाम, ०६ भदौ । बहुविवाह र ठगी गरेको आरोपामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घरमा जेठी श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरेका एक व्यक्ति पक्राउ परेको हो । पक्राउ पर्नेमा पर्साको विरगन्ज महानगरपालिका वडा नम्वर ११ वस्ने २६ वर्षीय विकास कुमार साह रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको टोलीले जनकपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित मुरली चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले जेठी श्रीमती हुँदाहुँदै अर्की महिलासंग विवाह गरेकाले वहुविवाह कसुरको अनुसन्धानको सिलसिलामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता बस्नेतले बताए ।





