हिमाल आरोहणका क्रममा ५ जनाको निधनः पर्यटन विभागद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं, वैशाख ३०। सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा ५ जना आरोही तथा पथप्रदर्शकहरूले ज्यान गुमाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको यस असामयिक निधनले समग्र पर्वतीय पर्यटन क्षेत्र स्तब्ध भएको जनाएको छ।
विभागले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विभागद्वरा जारी विज्ञप्तिमा उल्लेखित विवरण अनुसार सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली माउन्टेन गाइडहरूको निधन भएको छ । सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पाको वैशाख २० गते आधारशिविर नजिक, विजय घिमिरेको वैशाख २७ गते खुम्बु आइसफलमा र फुरा गेलजेन शेर्पाको वैशाख २८ गते तेस्रो शिविरमा निधन भएको हो । उनीहरू विभिन्न एजेन्सीमार्फत आरोहण दलको नेतृत्व र सहयोगमा खटिएका थिए ।





