पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप


काठमाडौं, वैशाख २९। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे।
उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरिएको अवस्था थियो ।’ अर्थमन्त्री डा।वाग्लेले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेको उल्लेख गर्दै देशका आर्थिक र राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे ।
उनले स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए । सरकारले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस रूपमा अघि बढाउने तयारी गरेको पनि उनले बताए । न्यूज बैंक





