साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने


काठमाडौँ, वैशाख २२। पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ ।विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो ।
पर्यटन ऐन, २०३५ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक पर्यटनसँग सम्बन्धित संस्था वा कम्पनीले विभागबाट अनिवार्य रूपमा इजाजत लिनुपर्ने प्रावधान छ । हाल मुलुकका विभिन्न ठाउँमा अनुमति नलिई र सुरक्षा मापदण्डको समेत पालना नगरी यस्ता गतिविधि सञ्चालन भइरहेको गुनासो आएपछि विभागले उक्त सूचना जारी गरेको हो ।
“सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र यस्ता खेल सञ्चालन गर्नुपर्छ, सुरक्षा मापदण्डको विश्लेषण नै नगरी आफूखुसी इजाजतबिना खेल गतिविधि सञ्चालन गर्नु कानुनविपरीत कार्य हो”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





