देश

    तानसेन नगरपालिकामा पोषण राहत कार्यक्रमको सुरुआत

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | बिहान ०८:०५ बजे

      पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले कोभिड–१९ महामारीको बेला बालबालिकामा देखिएको खाद्य तथा पोषणको अभावलाई मध्य नजर गर्दै पोषण राहत कार्यक्रम शुरुआत गरेको छ ।

      विभिन्न संस्थाको सहयोगमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो । नगरपालिकाले प्रति बालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।

      नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण छ देखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण राहत प्रदान गरिने भएको हो । कोभिड–१९ को महामारीले गर्दा धेरै मानिसको रोजगारी गुमेसँगै जीविकोपार्जनमा समेत अत्यधिक समस्या देखिएको छ ।

      आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका झन त्यसको ठूलो मारमा परेका छन् । निम्न वर्गका परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन् । सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित गर्दै खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो ।

      बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काका अनुसार लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको हो ।

        कमेन्टहरु