देश

    सभामुखमाथि एमालेको निरन्तर अस्वाभाविक र मर्यादित दबाब

    जगत ठाडा मगर
    २०७८ भदौ ५ | बिहान ०८:०५ बजे

      काठमाडौ । आफ्ना १४ सांसदमाथिको कारबाहीको सूचना टाँसमा ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्नि सापकोटामाथि अस्वाभाविक र मर्यादित दबाब बनाएको छ ।

      विपक्षी दलले सभामुखमाथि अनुचित दबाब बनाएको सत्तारुढ दलको भनाइ छ । १ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार संसद्ले सूचना जारी गरेपछि एमालेले कारबाही गरेका सांसदको पद रिक्त हुन्छ । यसका लागि सभामुखले १५ दिनभित्र निर्णय लिनुपर्ने हुन्छ । तर, एमालेले पत्र दर्ता गराएकै दिनदेखि सभामुखमाथि दबाब दिइरहेको छ ।

      सार्वजनिक कार्यक्रम र भेटेरै पनि एमालेका सांसदहरूले सभामुखलाई छिटो सूचना टाँस गर्न दबाब दिइरहेका छन् । बिहीबार एमाले सांसद र सभामुखबीच सूचना जारी गर्ने विषयमा विवाद भएको थियो । शुक्रबार पनि सभामुखको कार्यकक्षमा पुगेका एमाले सांसदहरूले सभामुखलाई दबाब दिएका थिए । सांसद महेश बस्नेतले भने, ‘उहाँले त्यो प्रक्रिया कहाँ पुर्‍याउनुभयो, के गर्नुभयो भनेर हामी ताकेता गर्न आएका हौँ । एक ढंगले धर्नाकै हिसाबले आएका हौँ ।’

      के भन्छन् दलका प्रमुख सचेतक/सचेतक

      देव गुरुङ, माओवादी प्रमुख सचेतक
      सभामुख संस्था हो । संस्थाले नियम, कानुन, संवैधानिक व्यवस्थालगायत सबै हेर्नुपर्छ र त्यहीअनुसार गर्नुपर्छ भन्ने हो । संस्थालाई कुनै पनि किसिमबाट अनुचित दबाबमा राख्नुहुँदैन । त्यो लोकतान्त्रिक मूल्य–मान्यता–विधिअनुरूप हुँदैन । विधिको शासनमा विधि, प्रक्रिया जे हुन्छ त्यसैअनुसार चल्नुपर्छ । दबाबका आधारमा काम गराउन खोज्नु लोकतान्त्रिक संस्कृति होइन ।

      पुष्पा भुसाल, कांग्रेस सचेतक
      एमालेका साथीले जुन प्रवृत्ति देखाइरहनुभएको छ, गलत छ । सम्मानित व्यक्तित्व र पदमाथि नकारात्मक ढंगबाट प्रभावित पार्ने र दबाब दिने काम भएको छ । गलत नियतका साथ आफ्नो प्रवृत्ति देखाइरहनुभएको छ, यी क्रियाकलाप आपत्तिजनक छन् । सत्ताबाट बाहिर रहेको पीडा पनि होला । तर, प्रतिपक्षको भूमिका निर्वाह गर्न छाडेर सभामुखजस्तो गरिमामय पद र व्यक्तिमाथि देखाएको हर्कत निन्दनीय छ ।

      विशाल भट्टराई, एमाले प्रमुख सचेतक
      सभामुखज्यूलाई हाम्रो निर्णय कार्यान्वयन गरिदिनुस् भनेर अनुरोध गर्‍यौँ । एमाले फुटिसकोस् अनि गर्छु भन्ने नियत राख्नुभएको भए उहाँलाई फुटाएको आरोप लाग्छ । यस्तो कलंकबाट उहाँ जोगिनुहोस् भन्ने शुभेच्छा हो । जोगिनुभएन भने एमाले उहाँको विरुद्ध जेसुकै गर्न पनि तयार छ । यो अनुरोध हो, दबाब होइन । अरूको जस्तै व्यवहार गर्नुस्, विशेष माया गर्नुपरेन, तर समानतामा आधारित व्यवहार हुनुपर्‍यो नि !

      टाइमलाइन

      १ भदौ : एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालय पठायो । उनीहरूले ह्विप उल्लंघन गरेका कारण दलले कारबाही गरेको भन्दै संसद्बाट सूचना जारी गरिदिन एमालेको आग्रह थियो ।

      २ भदौ : १४ जना सांसदले आफूहरूमाथि एमालेले कारबाही गर्न नसक्ने दाबी गरे । एमालेलाई चुनौती दिँदै उनीहरू पनि संसद् सचिवालय पुगे । तर, उनीहरूले लगेको पत्र संसद्ले दर्ता गरेन । आफूहरूमाथि पार्टीले ह्विप नलगाएको भन्दै भ्रम र गलत तथ्यका आधारमा कारबाही गर्न खोजिएको उनीहरूले बताए ।

      ३ भदौ : १४ जना सांसदलाई कारबाही गरेको सूचना प्रकाशित गर्न ढिलाइ भएकोमा एमालेले आपत्ति जनायो । सभामुखको च्याम्बरमै पुगेर एमाले सांसदहरूले धम्कीपूर्ण भाषामा तत्काल सूचना निकाल्न सभामुखलाई दबाब दिए । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पनि न्युज एजेन्सी नेपाललाई एक अन्तर्वार्ता दिँदै सभामुखको भूमिकामाथि प्रश्न उठाए ।

      ४ भदौ : एमालेका झन्डै ३० जना सांसद बिहान ११ बजे नै सभामुखको कार्यकक्षमा पुगेका थिए । सभामुखले सूचना ननिकालेको भन्दै उनीहरूले आक्रोशसमेत व्यक्त गरे । आवश्यक पर्‍यो भने धर्ना दिनेसमेत उनीहरूले बताएका थिए । आफू व्यस्त रहेको भन्दै सभामुख सिंहदरबारस्थित कार्यकक्ष नआएपछि उनीहरू फर्किएका थिए । नयाँ पत्रीकाबाट

        कमेन्टहरु