समाचार

    पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

    नवलपुर टुडे
    २०८३ बैशाख ६ | मध्यान्ह ०१:०१ बजे

      पर्वत वैशाख ६। जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।

      मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताउनुभयो ।

      स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको जानकारी दिनुभयो । झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेको थाहा भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।

      किशोरी देउपुरमै रहेको स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा भर्ना हुने समय भएको जनाइएको छ । निजलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

        कमेन्टहरु