देश

    भदौको साँडे

    जगत ठाडा मगर
    २०७८ साउन ३० | बिहान ०८:०४ बजे

      photo 2021 08 14 09 09 45

      जीउ हेर्दा हृष्टपुस्ट, खाइलाग्दा,
      सिङ छोटा-मोटा, रहरलाग्दा,
      जूरो हिमालझैँ चुच्चो परेका,
      छरिता, फुर्तिला, खाइलाग्दा, जाइलाग्दा,
      प्रतियोगितामा लैजाउँला भनेर,
      पुरुष्कार, ट्रफी जिताउँला भनेर,
      नुवाकोटको मैदानमा उतार्ने भनी,
      सानैदेखि पोसेर पालेको,
      जीउभरि तेल घसेर पालेको,
      मीठो घाँस खुवाएको तिमीलाई नै हो,
      राम्रो बासमा राखेको तिमीलाई नै हो,
      स्याहार-सुसार गरेको तिमीलाई नै हो,
      तर तिमी त भूई-फुटुवा निस्क्यौ,
      यता पनि हान्ने, उता पनि हान्ने,
      कहीँ नभाको बेमान,
      तिमी भदौको साँडे!

      गोठ बनाएको तिम्रै लागि हो,
      भकारी छाएको तिम्रै लागि हो,
      आलिसान कोठा तिम्रै लागि हो,
      तर तिमीले के गर्यौँ????
      कोठामा ताल्चाको झुप्पो झुन्‍ड्यायौ,
      भकारी सिङले च्यातच्यूत बनायौ,
      भकारीमाथि सुरुवाल सुकायौ,
      अझै अरुको पेन्टी सुकायौ,
      तिम्रो सिङको रवाफ बढेकै हो,
      तिमीमा बोसो जमेकै हो,
      आँखामा मोतिबिन्दु लागेकै हो,
      आफ्नै मालिक नचिन्ने तिमी
      जस्लाई पनि टोक्दै हिड्ने,
      धाक, धम्की, धमस दिँदै,
      बाह्र हातमाथि उफ्रँदै हिड्ने,
      कहीँ नभाको बेमान,
      तिमी भदौको साँडे!!

      पल्लो गोठको गोरुलाई नि हान्छौ,
      तल्लो गोठको गोरुलाई नि हान्छौ,
      मालिकले लठ्ठी देखायो भने
      सिङारी खेल्दै उसलाई हान्छौ,
      पल्लो गोरू डलरमा किनेको देख्छौ,
      तल्लो गोरू भारूमा किनेको देख्छौ,
      माथिलो गोरूलाई भुस्याहा देख्छौ,
      वल्लो गोरुलाई फटाहा देख्छौ,
      कसैलाई छेउमा टिम्किनै दिँदैनौ,
      डलरे, भुस्याहा, कुत्ता देख्छौ,
      निर्धा-निमूखालाई सासैले निल्छौ,
      तिमी त साह्रै सैँधुवा भयौ,
      आफैले आफैलाई बरिष्ठ देख्छौ,
      तिम्रो सिङमा किरा परेकै हो,
      भदौमा आँखा फुटेकै हो,
      कहीँ नभाको बेमान,
      तिमी भदौको साँडे!!!

      तिम्रै जुरो बढाउन भनी,
      तिम्रै छाति फुलाउन भनी,
      लागी-मिली गरेको सबैले हो,
      पसिना बगाएको सबैले हो,
      जोरजाम गरेको सबैले हो,
      तिमी त चोर, डाका, फटाहा निस्क्यौ
      भाँडा लाप्लिप चाटेर सकायौ,
      अरुको बाली चोर्न भियायौ,
      खुत्रुके-कन्तुर फोर्न भियायौ,
      सबैको पसिना सोहर्न भियायौ,
      बाहाना धेरै गर्न भियायौ,
      जनतामा भ्रम छर्न भियायौ,
      त्यसैले, तिम्रो सिङ भाँचिनै पर्छ,
      तिम्रो जूरो ताछिनै पर्छ,
      तिम्रो बोसो झारिनै पर्छ,
      चोर, फटाहा, जाली साँडे तिमी,
      कही नभाको बेमान,
      तिमी भदौको साँडे!!!!

      तिमीलाई न नुवाकोट लान मिल्यो,
      न खेतबारीमा जोत्न मिल्यो,
      न तिम्रो कुनै शान भो,
      न मासुको भाउमा बेच्न मिल्यो,
      तिमी त बेकम्माको भयौ,
      कामै विनाको,
      कही नभएको बेमान,
      तिमी भदौको साँडे!!!!!

      रमेश थामी ‘छड्केसलाम’

        कमेन्टहरु