समाचार

    पर्वतमा अफ्रिकन स्वाइन, ४६ बंगुर मरे

    रासस
    २०८२ फाल्गुन २७ | बिहान ०७:११ बजे

      पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइनको संक्रमण बढेको छ । 

      सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको संक्रमणका कारण ४६ वटा बंगुर मरिसकेका छन् । 

      भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । 

      नमूना संकलन गरी गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । 

      थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । 

      कार्यालयले रोगको शंका देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बंगुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायत औषधि प्रयोग गरी निसंक्रमण गर्ने, बिरामी बंगुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए ।  

      शंकास्पद अवस्थामा बंगुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बंगुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जंगली बंगुरसँग सम्पर्क हुन नदिन तथा होटेल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनले बताए ।  

      पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बंगुरर फार्म रहेका छन् । 

        कमेन्टहरु