दुर्घटना

    रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु, ८ जना घाइते

    नवलपुर टुडे
    २०८२ माघ २७ | मध्यान्ह ०१:१० बजे

      काठमाडौ । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

      दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाले बताए ।

      उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । ७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

      अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । बाटोबाट अन्य थप यात्रु चढे नचढेको खुलेको छैन ।

      सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ । अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

        कमेन्टहरु