देश

    गोरखामा छोरी बलात्कारको आरोपमा दुई दाजुभाई पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन २५ | बिहान ०७:०४ बजे

      गोरखा । छोरीलाई बलात्कारको आरोपमा पालुङटार नगरपालिका–८ का ३७ वर्षीय बाबु र ३२ वर्षीय काका पक्राउ परेका छन् ।

      बलात्कृत बालिकाको स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोधपुछ गर्दा बाबु र काकाबाट बलात्कृत भएको खुल्न आएको प्रहरीले जनाएको छ । आरोपित दुवैलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो ।

      ३७ वर्षीय बाबुले विगत दुई वर्षदेखि बालिकालाई ललाईफकाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

      पीडित बालिकाको ३२ वर्षीय काकाले २०७७ साल कार्तिकमा फकाइ फुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

      पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि असार २७ गते काठमाडौं थापाथलीस्थित प्रसूति गृह पुर्‍याइएको थियो ।

      उपचारको क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई फकाइफुलाई सोद्ध्दा बाबु र काकाबाट बलात्कृत भएको बताएकी थिइन् । पीडितको फुपूमार्फत नै साउन २२ गते प्रहरीमा उजुरी दर्ता भएको डिएसपी दाहालले बताए । उनका अनुसार पीडित बालिकाको आमाले दुई वर्षअघि दोस्रो विवाह गरिसकेकी थिइन् ।

      आइतबार आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु