प्रबास

    बिहार निर्वाचनमा हारपछि कांग्रेसको समीक्षा बैठक, धाँधलीको आरोप

    एजेन्सी
    २०८२ कार्तिक २९ | मध्यान्ह ०४:०७ बजे

      नयाँ दिल्ली । बिहार विधानसभा चुनावमा पार्टीले नराम्रो हार बेहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसले शनिबार दिल्लीमा पहिलो समीक्षा बैठक बोलाएको छ ।

      कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा भएको उक्त बैठकमा राहुल गान्धी, केसी वेणुगोपाल र अजय माकन लगायतका वरिष्ठ नेताहरू उपस्थित थिए । बैठकमा नेताहरूले चुनावको नतिजाको समीक्षा गर्दै पार्टी संगठनमा देखिएका कमजोरीहरूबारे छलफल गरे । साथै, आगामी रणनीतिबारे विभिन्न सुझावहरू पनि प्रस्तुत गरिए । भारतीय पत्रिका भास्करका अनुसार पार्टीले बिहारमा यति ठुलो हार किन भयो भन्नेबारे गहन अध्ययन गरिरहेको छ । 

      बैठकपछि कांग्रेसका नेताहरूले भाजपामाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । कांग्रेस नेता केसी वेणुगोपालले पार्टीले धाँधलीका प्रमाणहरू संकलन गरिरहेको र आगामी दुई हप्ताभित्र देशसामु सार्वजनिक गर्ने बताएका छन् । 

      यस चुनावमा कांग्रेसले ६० सिटमा उम्मेदवारी दिएको थियो, तर जम्मा ६ सिटमा मात्र जित हासिल गर्न सक्यो । पार्टीको भोट सेयर ८.७१५ मा झरेको छ । सन् २०२० को चुनावमा कांग्रेसले ७० सिटमा प्रतिस्पर्धा गर्दा १९ सिट जितेको थियो र ९.६५ भोट पाएको थियो । 
       
      कांग्रेस वरिष्ठ नेता माकनले चुनावबारे उठाए गम्भीर प्रश्न

      कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसँगको भेटपछि पार्टीका वरिष्ठ नेता अजय माकनले बिहार चुनावको नतिजाबारे गम्भीर प्रश्न उठाएका छन् । उनले भने, ‘चुनाव प्रक्रियामा सुरुदेखि नै प्रश्न उठेका छन्, त्यसैले यस्ता नतिजा अचम्म लाग्ने खालका छन् । कांग्रेसलाई सन् १९८४ मा पनि यस्तो स्ट्राइक रेट मिलेको थिएन, जस्तो यसपटक भाजपालाई मिलेको छ । केही न केही गडबडी पक्कै छ । हाम्रा कार्यकर्ताहरूले लगातार धेरै ठाउँमा गडबडी भएको बताइरहेका छन् ।’ 

      माकनका अनुसार गठबन्धनका सबै दलहरूले यो नतिजालाई ‘अप्रत्याशित’ मानेका छन् र यसको छानबिनको माग गरिरहेका छन् ।

       

        कमेन्टहरु