देश

    आवामी लिगले गर्‍यो देशव्यापी लकडाउन आह्वान, हाई अलर्टमा ढाका

    एजेन्सी
    २०८२ कार्तिक २७ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौँ । बङ्गलादेशको विशेष अदालत ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण’ले नोभेम्बर १७ मा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको फैसला सुनाउने भएको छ । सम्भावित फैसलाकै कारण अहिले बङ्गलादेश तनावग्रस्त छ । शेख हसिनाको पार्टी, अवामी लिगले बिहीबार बन्दको घोषणा गर्‍यो । 

      अवामी लिग बन्दका कारण राजधानी ढाकामा सुरक्षा कडा पारिएको छ र लकडाउन जस्तो अवस्था लागू गरिएको छ । बङ्गलादेश हाई अलर्टमा छ । फौजदारी न्यायाधिकरणले निर्धारित समयमै आफ्नो फैसला सुनाउने अभियोजन टोलीका एक सदस्यले बताएका छन् ।

      अवामी लिगको बन्द र शेख हसिना विरुद्धको फैसलालाई ध्यानमा राख्दै सरकारले ढाकामा सेना, सीमा रक्षक बङ्गलादेश र दङ्गा विरोधी प्रहरी कर्मचारीहरू तैनाथ गरेको छ । ढाकाका सडकहरू खाली देखिएका छन्, सडकमा सीमित बस मात्रै छन् ।
       
      धेरै निजी संस्था र विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेका छन् । अज्ञात व्यक्तिहरूले ढाका, मुन्सीगञ्ज, सेन्ट्रल टाङ्गेल र दक्षिणपश्चिमी गोपालगञ्जमा पाँच वटा खाली बसहरूमा आगजनी गरेको मिडिया रिपोर्टहरूले दाबी गरेका छन् ।
      शेख हसिना विरुद्धको मानवता विरुद्धको अपराधको मुद्दाको फैसला नोभेम्बर १७ मा घोषणा गरिनेछ । अभियोजन पक्षले हसिनालाई मृत्युदण्डको माग गरेको छ ।

      हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख अब्दुल्लाह अल मनुन पनि यस मुद्दामा अभियुक्त छन् । उनीहरूमाथि गत वर्ष विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप छ । यो विद्यार्थी आन्दोलनले शेख हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन र बङ्गलादेश छोडेर भारत जान बाध्य पारेको थियो । 

      तर हसिनाले भने आफूमाथि लगाइएका आरोपहरू मनगढन्ते भएको र आफू विरुद्धको सम्पूर्ण मुद्दा राजनीतिक षड्यन्त्र भएको बताएकी छिन् ।आफ्नो मुद्दाको सुनुवाइ गर्ने न्यायाधिकरण निष्पक्ष नभएको आरोप पनि उनले लगाएकी छिन् ।

        कमेन्टहरु