प्रबास

    सङ्ग्रहालयबाट चोरी भएका गहनाहरूको मूल्य ८.८ करोड युरो

    एजेन्सी
    २०८२ कार्तिक ५ | बिहान ०८:०७ बजे

      पेरिस । पेरिसको लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो रहेको फ्रान्सेली सरकारी वकिलले बताएका छन्। वकिल लोर बेक्कुओले यो रकम ‘असाधारण’ भएको बताउँदै उनले यसलाई फ्रान्सको ऐतिहासिक सम्पदाको लागि ठुलो क्षति मानेका छन्।

      आइतबार बिहान सङ्ग्रहालय खुलेको केही समयपछि चोरहरूले पावर टुलको प्रयोग गरी आठ मिनेटभन्दा कम समयमा उक्त बहुमूल्य सामानहरू चोरेका थिए। चोरी भएका सामग्रीहरूमा मुकुट, गहना र दुई नेपोलियनले आफ्ना पत्नीहरूलाई दिएका गहनाहरू समावेश छन्। यसमा सम्राट नेपोलियनले आफ्नी पत्नीलाई दिएको हिरा र पन्नाको हार र नेपोलियन तृतीयकी पत्नी महारानी युजेनीले लगाएको मुकुट (तिआरा) पनि छन्।

      75c92920-ad28-11f0-b2a1-6f537f66f9aa.png

      अनुसन्धानकर्ताहरूले चोरहरू भागेको मार्गमा महारानी युजेनीको क्षतिग्रस्त मुकुट फेला पारेका थिए, जुन उनीहरूले हतारमा छोडेको अनुमान छ। चार नकाबधारी चोरहरूले यान्त्रिक लिफ्ट जडान गरिएको ट्रक प्रयोग गरी सीन नदी नजिकैको बाल्कोनी हुँदै ग्यालरी डी’अपोलोमा प्रवेश गरेका थिए।
       
      फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यस चोरीलाई फ्रान्सको सम्पदामाथि भएको हमलाको रूपमा व्याख्या गरेका छन्। विशेषज्ञहरूले गहनाहरू पहिले नै टुक्राइएको र विदेश तस्करी भएको आशङ्का गरेका छन्।

        कमेन्टहरु