धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश
घरघरमा कन्या पूजन गरी नवरात्रि समापन गरिँदै


बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौ जना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ। आ–आफ्ना घर तथा टोल–छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसाद चढाएर पूजा गरेका छन् । पूजापश्चात् कन्याहरूलाई प्रसादका रूपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन् भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्र व्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताए।
मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रूप मानेर कन्या पूजन, कन्या भोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ।
बडादसैँका नवरात्रि व्रत बसेर कन्या पूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि माता दुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धूमधामका साथ मनाइने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए।





