समाचार

    सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

    नवलपुर टुडे
    २०८२ अशोज १२ | बिहान ०५:०६ बजे

      दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ ।

      जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो । ‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी रु एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिए ।

      डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उनले बताए । सङ्कलित रकममध्ये रु ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ ।

      बाँकी रु एक लाख ११ हजार ४५० मध्ये रु एक लाख आलेको खातामा जम्मा गरिएको छभने रु ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ ।

      आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत छिन् । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार ५५६ सहयोग गरेका थिए।

        कमेन्टहरु