डब्ल्युएचओको चेतावनी : तत्काल डेल्टा भेरियन्ट रोक्न नसके ठूलो क्षति हुन सक्ने


काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वभर अनियन्त्रित रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ।
WHO ले सबै मुलुकलाई चेतावनी दिदै भनेको छ, यदि खोप अभियान तिब्र रुपमा पुरा गरिएन भने डेल्टासमेत कोरोनाको नयाँ भेरियन्टले वर्तमानमा धेरैको ज्यान लिनसक्छ ।
डब्ल्युएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रेयानले भनेका छन्, ‘अहिलेको परिस्थितिमा डेल्टा भेरियन्ट हाम्रो लागि ठूलो चुनौती भएको छ । यसलाई हराउनका लागि हामीले चाडो भन्दा चाडो पहल गर्नुपर्नेछ । खोप अभियानलाई अझै तिब्र बनाउनुपर्नेछ ।’
डेल्टा भेरियन्टको खतरनाक परिणामलाई मूल्यांकन गर्दै डब्ल्युएचओले यसलाई तत्काल रोक्न नसके ठूलो क्षति हुने चेतावनी दिएको हो । तिब्र रुपमा फैलिइरहेको डेल्टा भेरियन्ट अहिलेसम्म एक सय ३२ मुलुकमा फैलिइसकेको छ ।
डब्ल्युएचओले सेप्टेम्बरको अन्तिमसम्म सबै देशसँग अपिल गरेका छन्, कम्तीमा आफ्नो मुलुकको कुल जनसंख्याको १० प्रतिशतलाई खोपको पुरा डोज लगाउनु पर्ने र यो सालको अन्त्यसम्ममा कुल जनसंख्याको ४० प्रतिशतलाई पूर्ण खोप लगाइसक्नु जरुरी छ ।
डब्ल्युएचओका प्रमुख टेड्रोस अधनोम घ्रेबेसिसले भनेका छन्, अहिलेसम्म जम्मा चार भेरियन्टको चिन्ता छ, जबसम्म कोरोना फैलिइरहन्छ यसको नयाँ नयाँ भेरियन्ट पनि आउने जोखिम छ । उनले भनेका छन् पछिल्लो चार हप्तामा औसत ८ प्रतिशतको दरले कोरोनाको संक्रमण बढिरहेका छन् ।
विश्वभर कोरोना भाइरस महामारी संक्रमितको संख्या बढेर १९.६६ करोड पुगेको छ । यसबाट अहिलेसम्म ४१.९९ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा सबैभन्दा बढी कोरोनाको कहर अमेरिकामा देखिएको छ ।
अहिलेसम्म त्यहाँ ३ दशमलव ४७ करोड भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् र ६ लाख बढीको मृत्यु भएको छ ।





