मन्त्री परिषदको भागबण्डा, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने


काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको सहभागिताविना नै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।
विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा माधव नेपाल पक्षविना नै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो। माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जसपाले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।
विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।
उनका अनुसार बाँकी तीन जनालाई राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।
राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
जसपाको कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।





