कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक  निजामती प्रशासनको समिक्षा

    याम बहादुर थापा मगर
    २०८२ भदौ १७ | मध्यान्ह ०३:०५ बजे
    याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

       

       

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       

       

      नेपालको सार्वजनिक प्रशासन,
      एक स्थायी सरकारको मेरुदण्ड,
      जनताको आवाज सुन्ने कान,
      तर कहिलेकाहीँ ढिलो चल्ने हात।

      विगतका दिनहरू सम्झँदा,
      अनुशासन र इमानदारीको शपथ बोकेको
      “सबल प्रशासन, स्वच्छ प्रशासन” भन्ने आवाज
      काठमाडौँको गल्लीदेखि दुर्गमका पाखासम्म गुन्जिएको थियो।

      २०६१ बाट आजसम्म,
      नाराहरू बदलिँदै गए ।
      “जनमुखी प्रशासन, अनुशासन र सुशासन”,
      “पारदर्शिता र चुस्ती”,
      “सक्षम प्रशासन, विकास, समृद्धि र सुशासन”,
      र पछिल्लो समयको आवाज
      “व्यावसायिक र सृजनशील प्रशासन,
      विकास, समृद्धि र सुशासन।”

      तर, यी नाराहरू,
      कहिलेकाहीँ भित्तामा टाँसिएका पोस्टर जस्ता लाग्छन् ।
      रङ्गीन तर निष्प्राण,
      शब्दमा गहकिला,
      तर काममा हल्का।

      प्रशासनले देखाएको उज्यालो पनि छ,
      राजनीतिक संक्रमणका आँधीमा
      स्थायित्वको ओट र छाना बनेको छ,
      जनताको सेवा गर्ने नीतिहरू जन्मिएका छन्,
      नागरिकलाई सम्मान र सेवा दिने
      अधिकारका स्वरहरू घन्किएका छन्।

      तर अर्को तर्फ,
      भ्रष्टाचारका आरोपले मथ्थर भएको इज्जत,
      दुर्गममा सेवा नपुगेका रित्तापन,
      रोजगारी सिर्जनामा देखिएको कमजोरी,
      स्थायी कर्मचारीको विदेश पलायन
      यी सबैले प्रशासनलाई प्रश्नको कठघरामा उभ्याएका छन्।

      काम चोरको आरोप,
      राजनीतिक दबाबमा गरिएको हस्ताक्षर,
      जनतामा बुझेको नकारात्मकता
      यी घाउ अझै भिजाइरहेका छन्।

      अब चाहिन्छ आत्म समिक्षा,
      नारा होइन, नतिजा
      शब्द होइन, कार्यको तिखो मिठास,
      नागरिकको भरोसा पुनः जगाउने हात।

      “जनसेवा हाम्रो प्रतिवद्धता” भन्ने वाक्य,
      फाइलका धुला पुछ्ने होइन,
      जनताको आँसु पुछ्ने कार्यको साक्षी बन्नुपर्छ।

      भोलिको नेपाल तब मात्र समृद्ध हुनेछ,
      जब प्रशासन व्यावसायिक मात्र होइन,
      सृजनशील र जवाफदेही पनि हुनेछ ।
      जब नाराभन्दा अगाडि
      जनताको समस्या समाधान गर्ने हात अघि बढ्नेछ।

      त्यस दिन मनाउने निजामती दिवस
      निजामति सेवाको मान्यता
      अनुशासन, इमानदारी र नैतिकतामा मात्र होइन,
      जनताको मुटुमा पनि अङ्कित हुनेछ।

        कमेन्टहरु