अपराध

    कैलाली प्रहरीले खैरो हेरोइनसहित २ जना पक्राउ

    नवलपुर टुडे
    २०८२ भदौ १६ | बिहान ०९:०५ बजे

      कैलाली । कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–०१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका–०६ नारायणपुरका ४१ वर्षीय नारायण डगौरा रहेको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–०१ बिजौरास्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा चौधरीको साथबाट ९ ग्राम खैरो हेरोइन फेला परेको थियो ।

      त्यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–०६ नारायणपुर चोकमा पैदल हिँडिरहेका  डगौरालाई शङ्का लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

      दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

       

        कमेन्टहरु