कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक युवा चेतनाको उज्यालो

    याम बहादुर थापा मगर
    २०८२ साउन २७ | मध्यान्ह ०९:०४ बजे
    याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

       

       

      अगष्ट १२—अन्तर्राष्ट्रिय युवा दिवस,
      विश्वभर एकैसाथ गुञ्जिन्छ
      युवाको जोश, जाँगर र सम्भावनाको स्वर।
      यो त केवल एक दिनको उत्सव होइन,
      यो त मानव जीवनको त्यो सुनौलो उमेरको सम्मान हो।
      जहाँ छ नेतृत्व गर्ने आँट,
      जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास,
      र बदल्न सक्छु संसार भन्ने साहस।

      व्यक्ति, परिवार, समुदाय, राष्ट्र
      र सिङ्गो विश्वको विकासमा
      युवाको भूमिका धड्कन झैँ अनिवार्य छ।
      नयाँ सोच, नयाँ ऊर्जा, मौलिक विचार,
      हक्की स्वभाव र न्यायको चाहना
      यी सबै युवाको परिचय हुन्।
      युवाले कलम समात्दा विचार बदल्छ,
      उपकरण समात्दा प्रविधि बदल्छ,
      र साहस समात्दा इतिहास बदल्छ।

      तर इतिहास सजिलो थिएन ।
      विगतमा युवाहरूले
      स्वतन्त्रता, समानता र अधिकारका लागि
      संघर्षको आँधी बेहोरे,
      त्यो बिउबाट आजको चेतना उम्रियो।
      नेपालका युवाले क्रान्तिका पानामा रगतले अक्षर कोरे,
      र परिवर्तनका हरेक मोडमा
      अग्रपंक्तिमा उभिए।

      आज पनि चुनौतीहरू कम छैनन् ।
      बेरोजगारीको दुश्चक्र,
      विदेश पलायनको लहर,
      प्रविधिको असमान पहुँच,
      र नीतिगत उपेक्षा।
      विश्वमा पनि
      जलवायु परिवर्तनदेखि आर्थिक असमानतासम्म
      युवाको काँधमै जिम्मेवारीको भारी छ।

      तर समाधान पनि युवा मै छ ।
      नवप्रवर्तनात्मक सोचलाई
      सामाजिक र आर्थिक रूपान्तरणको इन्धन बनाऔं,
      सहभागिता केवल नारामा होइन,
      नीति निर्माणको केन्द्रमा पुर्याऔं।
      शिक्षा र सीपलाई
      रोजगारीसँग जोडेर
      आफ्नै भूमिमा सम्भावना सिर्जना गराऔं।

      किनकि युवा अवस्था केवल उमेरको कुरा होइन,
      यो त सोच, साहस र संकल्पको नाम हो।
      जब विश्वका युवाहरू
      समान अवसर र साझा लक्ष्यका साथ अघि बढ्छन्,
      त्यो दिन
      अन्तर्राष्ट्रिय युवा दिवसको उज्यालो
      बार्है महिना संसारमा फैलिनेछ।

       

        कमेन्टहरु