विचार/ब्लग

    कविता शिर्षक: खिरको स्वाद, सन्तानको माया

    याम बहादुर थापा मगर
    २०८२ साउन १५ | मध्यान्ह ०३:०४ बजे
    याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

      साउन पन्ध्र — नेपाली मनको चुल्होमा उब्लिने
      चामल, दूध र मिठासको एक विशेष दिन ।
      यो केवल दूध-चामल उमालेर पकाइएको मिठो परिकार होइन,
      यो हो — सम्झनाको स्वाद, स्नेहको सुगन्ध, आशाको मिठास ।
      बिहानैबाट आमाको हात, बुहारीको माया, छोरीको सम्झना,
      अनि
      “छोरी बढलीन, कमाई गर्लिन, दुध भात देलिन मलाई” भन्ने अभिलाषा
      खिरको हर थालमा मिसिएको हुन्छ ।
      खीर — आयुर्वेदिक ज्ञानले भन्छ, ‘क्षीर’
      अर्थात् दूधबाट जन्मिएको,
      पौष्टिकता, शक्ति र रोग प्रतिरोधात्मक क्षमता दिने आहार ।
      क्याल्सियम, प्रोटिन, आइरन र मिठासले भरिएको
      एकथरी आत्मीय उपचार जस्तै लाग्छ,
      जसले वृद्धलाई जीवनको उमंग दिन्छ,
      बालकलाई स्नेहको स्पर्श ।
      तर, आजभोलि खीरको स्वादमा देखिन्छ परम्परा भन्दा प्रदर्शन,
      चिनीको मात्रा बढाएर स्वास्थ्य जोखिमको डोबमा खस्ने प्रवृत्ति,
      बजारमा मिल्क पाउडर, केमिकल फ्लेभर, कृत्रिम मात्रा मिसाएर
      खीरलाई ‘फास्ट फुड’ बनाउने लोभ र लापरवाही ।
      कहाँ हरायो त्यो गाउँको घिउको सुवास,
      नयाँ दूधको घाममा ततिएको स्वाद?
      कसरी हरायो त्यो सासुको हातबाट बुहारीले सिकेको सामिप्य?
      समीक्षा चाहिन्छ — खीर परिकारमा देखिएको विकृति विरुद्ध ।
      शुद्ध सामग्रीको प्रयोग होस्,
      घरमै पकाउने परम्परा जोगियोस्,
      बजारको चमकमा होइन, मनको ममतामा खीर बग्न सकोस् ।
      सन्देश दिनुपर्छ — खीर खाने दिन पैसा होइन,
      परम्परा, प्रेम र पोषण हो ।
      कविता जस्तै — मिठास पनि होस्, मार्मिकता पनि होस् ।
      यस साउन १५ मा खीरले जोडोस् परिवार,
      झल्कियोस् आत्मीयता र सम्झनाको उज्यालो
      एकछिनको मिठास, जीवनभरको माया ।

        कमेन्टहरु