अपराध, अर्थ

    रौतहटमा स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एकजना पक्राउ

    नवलपुर टुडे
    २०८२ असार २६ | मध्यान्ह ०२:०३ बजे

      रौतहट । रौतहटमा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सर्लाही रामनगर गाउँपालिका वडा नम्बर–२ बस्ने चन्दन पण्डितलाई पक्राउ गरेको हो ।

      बिहीबार बिहान भारतबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा प्रहरीले १२ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो । 

      प्रहरीको विशेष टोलीले गौर भन्सार नजिक जाँच गर्ने क्रममा  ब्याग बोकेर गौरतर्फ आइरहेका पण्डितले शङ्कास्पद गतिविधि गरेपछि नियन्त्रणमा लिइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

      पण्डितको झोलाबाट स्रोत नखुलेको १२ लाख ७३ हजार ३ सय बरामद भएको डीआइजी चतुर्वेदीले बताए । उनका अनुसार उक्त झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय फेला परेको छ । 

      पैसाको स्रोत खुल्ने कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको उनको भनाई छ । साथै प्रहरीले पण्डितको साथबाट बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । 

      स्रोत नखुलेको पैसा र मोटरसाइकलसहित पक्राउ परेका पण्डितलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु