गण्डकी प्रदेश, विचार/ब्लग

    कविताको शिर्षक: असार पन्ध्रको माटो, मुरी र मनको उत्सव

    याम बहादुर थापा मगर
    २०८२ असार १५ | मध्यान्ह ०१:०३ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

      असारको झरीसँगै बग्छ जीवनको धुन,
      बिउ फाल्ने हात, धान रोप्ने पाइला,
      माटोको काखमा मिलेर उब्जिन्छ मुरीको सपना।
      असार १५ — राष्ट्रिय धान दिवस
      माना खाएर मुरी उब्जाउने परम्पराको सम्मान।

      दही चिउरा खाने चलन,
      श्रम र उत्साहको स्वाद मिसिएको संस्कृति।
      कहिले दही चिउरा हुन्छ, कहिले पनि दही चिउरे नहुने,
      तर चाहना एउटै — सामूहिक सम्झना र थकाई मार्ने अवसर।

      खेतको बीचमा लुकेका हाँसोका चिरबिर,
      हिलोमा लम्पसार परेका जुँगा दाजुहरू,
      पसिनामा भिजेका बहिनीका चोलीहरू
      श्रमको सौन्दर्य यहीं देखिन्छ,
      जहाँ माटोको गन्धले मनै सजिन्छ।

      माटो सम्याउने,
      लहरा मिलाउने,
      धान रोप्दै गीत गाउने
      यो केवल कृषि होइन,
      यो संस्कार हो, पहिचान हो,
      नेपाली माटोमा टेको लगाउने प्रेम हो।

      मेशिनको  युग आए पनि
      काधको हलो, मनको अठोट अझै बाँचेको छ।
      कृषकको जिउ झुकिए पनि मन अझै उभिएको छ,
      प्रकृतिको लयमा हिँडिरहेछ,
      असारको हिलोमा फूलिरहेको छ जीवन।

      असार १५ गते धान दिवस
      हाम्रो भूमिको पूजा,
      श्रमको उत्सव,
      र आत्माको तृप्ति हो।
      यहाँ किसान देवता हुन्,
      र माटो, त्यो देवी — जसले हामीलाई अन्न दिन्छ,
      जसले हामीलाई आत्मनिर्भर बनाउँछ।

        कमेन्टहरु