कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक अझै बाँकी छ देशको सपना

    याम बहादुर थापा मगर
    २०८२ असार ६ | मध्यान्ह ०८:०३ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

       

       कविताको शिर्षक

      अझै बाँकी छ देशको सपना

      यो देश यतिबेला भोकको मैदान जस्तो छ।
      जहाँ सपनाहरू उब्जिनुपर्थ्यो,

      त्यहाँ गहिरो ऋणको खाडल खनिएको छ।
      जहाँ युवाहरूले देश बनाउनु पर्थ्यो,

      त्यहाँ तिनीहरू लाइनमा छन् — भिसाको लागि,

       पीसीआरको लागि, र अस्तित्वको लागि।

      कसैले अमेरिका पुगे, कसैले अष्ट्रेलिया।
      कसैले जापानको झलमल्ल बत्तीमा जीवनको साँचो हराए।
      विदेशबाट आयो विप्रेषण — केही राहत बन्यो।
      तर त्यो पैसाले स्वाभिमान आउँदैन,

       त्यो पैसाले सपना फर्किंदैन।
      मुटु त उहीँ बाँकी रह्यो, आमा बुबा हेर्ने आँखा त यहाँ टोलाउँछ।

      नेपाल ?
      नेपाल अब आयातमा बाँच्ने मुलुक भयो।
      दालदेखि मोबाइलसम्म, सुईदेखि स्याउसम्म,
      सबै परदेशले पठाउँछ।
      हामीले त उद्योग बेच्यौं, कलकारखाना बेच्यौ।
      नेताहरूले नारा बेच्दै, देशको जग गाले।
      बुद्धिजीवीहरू मौन छन्,
      र जनताले प्रश्न गर्न बिर्सिए।

      सोचौं त ।
      यदि तिनै परदेश जानेहरूले पनि नपठाएको भए केही,
      कस्तो हुन्थ्यो यो माटोको मुहार ?
      हस्पिटलमा चाउरिएका अनुहार,
      विद्यालयमा खाली दराज,
      पेटीमा रुँदै पढ्ने बालकहरू,
      कसले बुझ्थ्यो ती आँखाका रहस्य?

      अब त कल्पना मात्रै गरौं ।
      सबै नेपाली फर्किए विदेशबाट,
      हातमा डिग्री, झोलामा आशा।
      तर यहाँ काम छैन, योजना छैन, नीति छैन।
      शून्य व्यवस्थामा भरिएको देश,
      कसरी बाँच्थ्यो ?

      तर हाँ, आशा मरेको छैन।
      नेताहरू हो, अब त सुन।
      देश प्रेम नारा होइन, योजना हो।
      राष्ट्रवाद गीत होइन, उत्पादन हो।
      जमिन बाँझो छ,
      सिँचाइ देऊ, प्रविधि देऊ,
      ब्याज मुक्त ऋण देऊ — कृषक नायक बन्नेछ।
      युवालाई तालिम देऊ, रोजगार देऊ,
      उद्यम गर्न प्रेरणा देऊ — नयाँ उद्योग उम्रनेछन्।

      बुद्धिजीवीहरू हो,
      कलम चलाउ, देशका लागि।
      गफ होइन, गन्तव्य देखाउने दृष्टिकोण देऊ।
      देशलाई ऋणमुक्त बनाउन,
      भ्रष्टाचार अन्त्य गर्न,
      नीति पारदर्शी बनाऊ।
      नाफा होइन, मूल्यमा विश्वास गर।
      कुर्सी होइन, कर्ममा अडान राख।

      देश फेरिन सक्छ ।
      यदि हामी सबै फर्किन्छौं — सोचमा, कर्ममा, र सपना बोकेर।
      विदेश जानु अपराध होइन,
      तर देश भुल्नु ठूलो भूल हो।

      नेपाल ?
      अझै बाँकी छ देशको सपना ।
      अझै बाँकी छ साँचो विकासको बिहान।
      शब्द होइन, सङ्घर्ष बनौं ।
      र बनाऔं साँचो स्वाभिमानको नेपाल।

        कमेन्टहरु