इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मानवअधिकार, लुम्बिनी प्रदेश, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

    कविताको शिर्षक जातीय भेदभाव तथा छुवाछुत उन्मूलन घोषणा

    याम बहादुर थापा मगर
    २०८२ जेष्ठ २१ | मध्यान्ह ०३:०२ बजे

       

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       

      कविताको शिर्षक

      जातीय भेदभाव तथा छुवाछुत उन्मूलन घोषणा

      नेपाल देशले घोषणा गर्‍यो ।
      जातीय भेदभाव र छुवाछुत अब छैन।
      संविधानका पानामा लेख्यो ।
      सबै नागरिक समान छन्,
      तर त्यो कागजको सन्देश
      अझै धेरै मुटुमा पुग्न बाँकी छ।

      १९ औँ वर्ष पुग्यो यो घोषणालाई,
      तर हाम्रा गाउँका चोकहरूमा अझै कोही
      अर्काको घरको धारो छुन सक्दैन,
      कुनै आमाले अझै छोराको बिहे जात हेरेर गर्छिन्।
      भान्सामा थाल छुट्याइन्छ,
      मन्दिरमा पाइला रोकिन्छ,
      अनि भन्छौँ – छुवाछुत छैन?

      विकृतिहरू गहिरिएर बसेका छन् ।
      धार्मिक संस्कारको खोलभित्र,
      परम्पराको नाममा,
      शिक्षित अनुहारभित्र लुकेका अपमानहरू।
      के यो मात्र कानुनी लडाइँ हो?
      हाम्रो चेतनाको युद्ध हो ।
      अन्तर्मन सफा नगरेसम्म
      घोषणाले परिवर्तन गर्दैन।

      तर आशा बाँकी छ ।
      विद्यालयमा एउटै डेस्कमा बस्ने बालबालिका,
      फाटेका पर्खालहरू मर्मत गर्दै
      समाज बनाउने युवाहरू,
      उनीहरू नै परिवर्तनका बीउ हुन्।

      समाधान यहाँ छ ।
      समान अवसरको ढोका खोल्नुपर्छ,
      अधिकारको भाषा गाउँसम्म पुर्याउनुपर्छ,
      सशक्तिकरण, शिक्षा, र सचेतना
      हाम्रो मूल हतियार हुन्।

      सामाजिक न्याय भनेको
      सबैलाई सुन्ने कान,
      देख्ने आँखा,
      महसुस गर्ने मन दिनु हो।
      समानता भनेको
      थरभन्दा माथि उठेर
      मानवलाई मानव मानेर हिँड्नु हो।

      आजको दिन स्मरण हो ।
      न केवल घोषणा गर्ने,
      बरु त्यसलाई बाँच्ने वाचा गर्ने।
      अब छुवाछुत होइन,
      समानताको गाथा लेख्ने समय हो।

        कमेन्टहरु