कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, साहित्य

    कविताको शिर्षक भविष्यको सपना बुन्ने मान्छे

    याम बहादुर थापा मगर
    २०८२ जेष्ठ १३ | मध्यान्ह १२:०२ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

       

      कविताको शिर्षक

      भविष्यको सपना बुन्ने मान्छे

      भविष्यको सपनाले आयो
      रङ्गीचङ्गी झिलिमिली पोशाकमा,
      जसले भन्यो
      “तिमी देश बनाउँछौ, संसार हाक्छौ, इतिहास बदल्छौ।”
      म मुस्काएँ, गर्वले ढाड तानें,
      तर त्यो बेलामा
      किचनको भाँडा माझिँदै थियो मेरी आमा,
      छोरा होमवर्क नबुझेको कुराउँदै थियो
      र घरको छानो चुहिँदै थियो
      त्यो मैले देखिनँ।

      देशको नक्सा कोर्दै थिएँ
      मनको कापीमा,
      संसारको भविष्य लेख्दै थिएँ
      स्वप्नको अक्षरमा।
      तर घरको ढोका चिसो थियो,
      आत्माको कोठा अस्तव्यस्त थियो,
      परिवारको मन भत्किँदै थियो
      र त्यो मैले चिन्दिनँ।

      सपना राम्रो थिए,
      योजना गगनचुम्बी।
      तर जग त खोइ?
      हावा खाएको योजना,
      माटो नपुगेको सोच
      कसरी टेकी रहने योजनामा त?

      अब सिक्दै छु
      घरलाई प्राथमिकता दिनु क्रान्ति हो।
      बाआमाको आशीर्वाद,
      श्रीमतीको मुस्कान,
      छोराछोरीको चिच्याहट
      यी नै हुन् मेरो संविधानका पहिलो अनुच्छेद।

      देश बनाउनुअघि
      घरलाई सुन्दर बनाउँछु।
      घर शान्त भयो भने
      समाज बदलिन्छ,
      समाज सुदृढ भयो भने
      देश उन्नति गर्छ,
      देश उभियो भने
      संसार परिवर्तन सम्भव हुन्छ।

      अब सपनालाई माया गर्छु,
      तर जिम्मेवारीलाई अँगालेर।
      भविष्य बनाउने हो,
      तर आज सुधारेर।
      किनकि संसार हाक्नु अघि
      मन जित्नुपर्छ ।
      त्यही हो यात्राको पहिलो कदम।

        कमेन्टहरु