मौसम

    कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८२ जेष्ठ ११ | बिहान ०६:०२ बजे

      काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै माल्दिभ्स, श्रीलंका लगायतका भू–भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू–भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ ।

      आइतबार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

      देशको उच्च–पहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति, कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

      कोसी र वाग्मती प्रदेश प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

        कमेन्टहरु