कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    गद्य कविताको शीर्षक:   अल्छी समयको गुनासो

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २२ | मध्यान्ह ०३:०१ बजे

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर बागलुङ
      ९८४७६५७३००

       

      गद्य कविताको शीर्षक:

        अल्छी समयको गुनासो

       

      बिहानको घाम ढिलो छिर्छ मेरो कोठामा,
      र मन अल्छीले पुरै शरीरमा पसारिन्छ।
      घडीको सुई त जति घुमे पनि,
      मेरो विचार स्थिर रहन्छ ।
      आज केही नगरे पनि हुन्छ भन्ने भ्रममा।
      तर समय त चुपचाप बितिरहेछ।
      अल्छीले बाँधिएका यी हातहरू अब खुल्नुपर्छ,
      एउटा सानो कामले पनि मनमा ऊर्जा ल्याउन सक्छ।

      जस्तै, कोठा सफा गर्ने, किताबको एक पाना पढ्ने,
      चिया बनाउँदा मनका कुरा सुन्ने।
      हिँड्न निस्कनु — सडक मात्र होइन,
      विचारहरू पनि घुम्छन्। गीत सुनिदिनु,
      आफूभित्र लुकेका भावनासँग संवाद गर्नु।
      मोबाइलको स्क्रिन भन्दा बाहिरको आकाश हेर्नु।

      फुर्सद भनेको बेकार बस्ने समय होइन,
      त्यो त आत्माको उपचार गर्ने बेला हो।
      त्यो बेला, कथा लेख्न सकिन्छ,
      पुराना पत्रहरू पढ्न सकिन्छ,
      नयाँ कुरा सिक्न सकिन्छ।
      बाल्यकाल सम्झनु, आमालाई फोन गर्नु,
      रित्तिएको डायरीको पानामा केही लेखिदिनु।

      पढ्न थालेपछि, मन पनि बोल्न थाल्छ।
      अक्षरहरू हाम्रो साथी बन्छन्,
      र पुस्तकहरू आत्मा सिरानी।
      दैनिक एक पृष्ठबाट पढन  सुरु गरौं,
      पुस्तकालय जाऔं, साथीसँग किताब साटौं।
      पठन संस्कृति भनेको ज्ञान मात्र होइन,
      एक अभ्यास हो — सोचको विकास र मनको सिंचाइ।

      अल्छीले बाँधिएको समयलाई छुटकारा दिन,
      स-साना क्रियाहरूको थालनी गरौं।
      किनभने जीवन त चलिरहन्छ,
      प्रश्न यो हो — हामी त्यससँग कतिसम्म चलिरहेका छौं?

       
       

        कमेन्टहरु