कृषि

    कास्कीका किसानलाई यस वर्ष मल अभाव नहुने

    रासस
    २०८२ बैशाख २१ | मध्यान्ह ०८:०१ बजे

      लेखनाथ । कास्कीका किसानलाई यस वर्ष रासायनिक मल अभाव नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेकाले विगतमा जस्तो यस वर्ष मल अभाव नहुने भएको हो। 

      हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डीएपी ११६ मेक्ट्रिक टन र पोटास ३.५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले दिए। कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ। 

      सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन्। किसानले पोखरा महानगरपालिकाभित्र युरिया २१.५, डीएपी ५०.५ र पोटास ३८.५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। पोखराबाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ। 

      कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कुल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन्।

      रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि २५ हजार धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ। कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा वढी सहकारीको आवेदन फरेको बास्तोलाले जानकारी दिए। 

      रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ। समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ। समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ। रासस

       

        कमेन्टहरु