गण्डकी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक हाम्रा नेताहरूको दैनिकी

    याम बहादुर थापा मगर
    २०८२ बैशाख १९ | मध्यान्ह ०७:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       

      हाम्रा नेताहरूको दैनिकी

       

      हाम्रा नेताहरू
      फोनमा बाँच्ने, फोनमै हराउने।
      फोन उठाउँछन्, अनि भन्छन् ।
      “बैठकमा छु, अहिले फोन गर्छु।”
      तर त्यो “अहिले” कहिल्यै आउँदैन।

      कहिलेकाहीं फोन गर्छन्
      “के हो विषयवस्तु ?” भन्छन्।
      थाहा नपाएसम्म सुनिरहन्छन्,
      थाहा पाएपछि — मौनताको पर्दा ओढ्छन्।

      हाम्रा नेताहरू भन्छन्
      “तपाईं हामी दुःख-सुखका साथी हौं।”
      तर तपाईंको दुःख उनीहरूको कागजमा मात्र हुन्छ,
      सहयोग माग्दा – औपचारिकता पनि महँगो लाग्छ।

      फेसबुकमा हाँसोको फोटो,
      जनताको आँशु तस्बिरमा छैन।
      सामान्य दिनचर्यामा पनि सुविधा छैन,
      जनतासँग सम्पर्क — भाषणको मञ्चमा मात्र।

      भन्छन्
      “हामीले विकासको मूल फुटाउनेछौं !”
      तर नाला पनि सफा हुँदैन,
      स्कूलका पर्खाल चर्किएका छन्,
      अस्पतालमा औषधि छैन।

      भाषणमा
      रेल आउनेछ, पानी जहाज चल्नेछ,
      विद्युत निर्यात हुनेछ, सगरमाथा पुग्ने लिफ्ट बन्छ।
      तर भाषण सकिएपछि,
      उनीहरू गाडी चढेर जान्छन्
      हर्नले जनतालाई पन्छाउँदै।

       

      जनता थाकेका छन्, वाक्क भएका छन्,
      अविस्तृत वाचाहरूको डोबमा थन्किएका छन्।
      हाम्रा नेताहरू
      माइकका मालिक,
      तर आत्मा बेचेर बोकेको जनताको बोझ बिर्सेका पात्रहरू।

      र जनताले अब प्रश्न गर्न थालेका छन् —
      “कहिले आउने हो त्यो अब ?”

       

        कमेन्टहरु