युएईमा नेपाल महोत्सव २०२५ हुने, युएईवासीलाई उपस्थितिका लागि अपिल


युएई । युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाल महोत्सव २०२५ हुने भएको छ । नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउने अभिप्रायले अप्रिल २० का दिन दुबईको क्रिक पार्कमा नेपाल महोत्सव आयोजना गरिएको हो ।
कार्यक्रम नेपाली राजदूतावास आबुधाबीको संरक्षकत्व तथा नेपाल एसोसिएसन एनआरएनएको संयोजकत्वमा नेपाली समाज, नेपाल बिजनेस काउन्सिल, सम्पूर्ण वैचारिक संगठनहरू, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, राजवंशी समाज विकास समिति यूएई तथा यूएईमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरूको संयुक्त आयोजनामा हुन गइरहेको छ ।
महोत्सवले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्नेछ ।

महोत्सवमा बृहत् संख्यामा विश्वभरि छरिएर रहेका नेपालीभाषी तथा नेपाली कला संस्कृतिलाई माया गर्ने व्यक्ति विशेषहरूको सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवमा नेपालीहरूको जातीय, वर्गीय, सम्प्रदाय तथा क्षेत्रीय (तराई, पहाड, हिमाल) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रवर्द्धन गरिनेछ।
विभिन्न विधामा दिग्गज व्यक्तित्वहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने, नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रमहरू रहेको छ।
जसमा राजवंशी समाज विकास समिति यूएई पनि सहभागी हुने भएको छ । यूएईमा भएका राजवंशीहरूले “हामार जातिर संस्कृति हामार पहिचान, विश्वभरी चिनाबार महाअभियान” को साथ अघि बढेको छ । जसमा राजवंशीहरुले अफ्नो साँस्कृतिक नृत्य प्रदर्शनी गर्ने साथै आफ्नै स्टल सजाएर राजवंशीको पौराणिक कालदेखि हालसम्म प्रयोग गर्दै आएका थुप्रै सामानहरु पनि प्रदर्शनी गर्ने भएको छ ।
कार्यक्रममा, घुँगुमुगु, कर्ताल, आफ्नै घरमा बनाएको धकरा तथा विछना, ढेरा, कुल्ला, टाकरी, पेटानी, धुति, दाल घटनी, माछा मार्ने जालो, कठ्ठा, दोतारा, सिरञ्जा आदी यस्तै थुप्रै स- सामानको साथमा अन्य फेस्टिवलका मूख्य आकर्षणहरु रहने छ ।
जस्तै:
✅ नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको प्रदर्शनी
✅ नेपाल र यूएईका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति
✅ भलिबलसहित विभिन्न राष्ट्रीय खेलकुद प्रतियोगिता
✅ ५०+ व्यापारिक स्टलहरू (नेपाली हस्तकला, अर्गानिक उत्पादन, स्थानीय व्यवसाय प्रवर्द्धन)
✅ नेपाली रैथाने परिकारहरूको स्वाद (म:म, सेलरोटी, गुन्द्रुक, ढिडो आदि)
✅ बालबालिकाका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रमहरू रहेकाे जानकारी राजवंशी समाज विकास समितिबाट नेपाल फेस्टिवल युएई २०२५ का संयोजक कविराज राजवंशीले जानकारी दिनुभएको छ ।

नेपाल फेस्टिवल २०२५ मा यहाँहरुको सहभागिता महत्वपूर्ण हुनेछ। नेपालप्रेमी सबैलाई यस उत्सवमा उपस्थित भई नेपाली कला, संस्कृति, र परम्पराको जगेर्ना गर्न आग्रहसमेत राजवंशी समाज विकास समिति यूएई परिवारले अपिल गरेको छ ।






