कर्णाली प्रदेश

    हुम्लामा बाढीपहिरोले भेडीगोठ पुरिँदा २६ बाख्रा मरे

    नवलपुर टुडे
    २०८२ बैशाख ४ | मध्यान्ह ०१:०१ बजे

      हुम्ला ।  हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन्। 

      अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन्। 

      भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए।

      गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए। उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजी कार्य भइरहेको छ।

      एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गरे। 

      आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

        कमेन्टहरु